तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ ।
तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरू चिन्तित भएका हुन् । तनहुँको म्याग्दे गाउँपालिका–४, छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावै फुलेको छ ।
यहाँका किसानले सामूहिक र व्यक्तिगत रूपमा गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो । चार लाख रुपैयाँभन्दा बढी आम्दानी भएपछि यो वर्ष थप क्षेत्रफलमा खेती विस्तार गरेको उनले सुनाइन् ।
भारतबाट आयात कम भएमा आफूहरूको उत्पादनले बजार पाउने उनको आशा छ । ‘अहिले तिहार केही पछाडि भएकाले फूल एक हप्ता अगाडि नै फुलेको छ । फूल बिक्दैन कि भन्ने चिन्ता पनि लागेको छ,’ उनले भनिन्, ‘भारतबाट फूल पोहोरको जस्तै भित्रिएन भने बिक्छ होला भन्ने आशा लागेको छ ।’ विदेशबाट आयात हुने फूललाई विस्थापन गर्ने उद्देश्यले कोदो, मकै र बोडी लगाउने बारीमा फूल खेती गरेको उनले बताइन् ।
तनहुँमा म्याग्दे र आँबुखैरेनी गाउँपालिका तथा शुक्लागण्डकी, भीमाद र व्यास नगरपालिकामा किसानले व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेका छन् ।
तस्वीर : विनोद ढुंगाना/नेपाल फोटो लाइब्रेरी







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।