काठमाडौँ, १५ कात्तिकः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आर्थिक अनियमितता तथा प्रहरी आचरणविपरीत कार्यमा संलग्न हुने ट्राफिक प्रहरी कर्मचारीलाई कुनै छुट नदिइने बताउनुभएको छ ।
कार्यालयले आज आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले सडकमा खटिने ट्राफिक प्रहरीले आर्थिक अनुशासन, इमानदारी र प्रहरी आचरणमा कुनै सम्झौता गर्न नहुने बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन् । प्रहरी ऐन तथा नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति नपाउने उहाँले स्पष्ट पार्नुभयो । राज्यले उपलब्ध गराएको तलब तथा सेवा सुविधाप्रति सन्तुष्ट रहनुपर्ने उल्लेख गर्दै प्रमुख काफ्लेले आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभयो ।
ट्राफिक प्रहरीले सेवामा प्रवेश गर्दा लिएको शपथअनुसार देश र नागरिकको सेवामा प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो । सरकारबाट प्राप्त सेवा सुविधाप्रति असन्तुष्टि भए वैकल्पिक बाटो रोज्न सकिने तर अनियमिततामा संलग्न हुन नपाइने उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले ट्राफिक प्रहरीको काम ट्राफिक व्यवस्थापन सवारीसाधनको आवागमन व्यवस्थित गर्नेमा मात्रै सीमित नभई नागरिकको जीवनरक्षा, सार्वजनिक सडक सुरक्षा, सडक अनुशासन र सभ्य समाज निर्माणसँग जोडिएको महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो ।
असल ट्राफिक प्रहरीले आफ्नो बर्दीको सम्मान गर्ने, कानुनको पालना गर्ने, नागरिकको विश्वास जित्ने र कर्तव्यलाई सेवाका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।