सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

शिक्षा

आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

आलेखः किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा, २३ कात्तिकः सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन् तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक दृश्य देखियो । कक्षा ४ मा अध्ययनरत छोरी अधिश्री दाहालले आमालाई पुराना कागजबाट नयाँ कागज बनाउने तरिका सिकाइन् ।

विद्यालयमा सिकेर आएको सीप छोरीले आफूलाई समेत सिकाएपछि ढुङ्गाना खुसी हुनुभयो । खेर गएका कागजलाई पुनःप्रशोधन गरेर नयाँ कागज बनाउन सकिने कुरा छोरीबाटै थाहा पाउनु उहाँका लागि नौलो अनुभव थियो । “मेरी छोरीले विद्यालयमा खेर गएका कागजबाट नयाँ कागज बनाउन सिकेकी छन् । उनले मलाईसमेत कागज कसरी बनाउने भनेर सिकाइन्”, ढुङ्गानाले भन्नुभयो ।

अधिश्री हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदन विद्यालयमा अध्ययनरत छिन् । विद्यालयले सञ्चालन गरेको ‘स्किल क्याम्प’मा सहभागी भएर उनले कागज पुनःप्रशोधन गर्ने सीप सिकेकी हुन् । कक्षा ४ का विद्यार्थीले पुराना कागजबाट नयाँ कागज मात्र बनाएनन्, आफूले तयार गरेको कागजमा छपाइसमेत गरेर देखाए ।

विद्यालय परिसरमा पुग्दा कतै परालबाट गुन्द्री बुन्ने काम चलिरहेको थियो भने कतै विद्यार्थीले निर्माण गरेका उपकरण प्रदर्शन भइरहेका थिए । केही विद्यार्थी परम्परागत सामग्री बनाउन व्यस्त थिए । केहीले भने आधुनिक प्रविधिमा आधारित उपकरण कसरी काम गर्छन् भन्ने जानकारी गराइरहेका थिए । पाठ्यपुस्तकका अक्षर र कक्षाकोठाको पढाइभन्दा बाहिर निस्किएर विद्यार्थी आफैँ काम गर्दै सिकिरहेको यो दृश्य विद्यालयको ‘स्किल क्याम्प’को हो ।

विद्यालयले ‘एक कक्षा, एक सीप’ अवधारणाअनुसार विद्यार्थीलाई कक्षा १० उत्तीर्ण गर्दासम्म कम्तीमा १० वटा व्यावहारिक सीप सिकाउने लक्ष्य राखेको छ । विद्यार्थीमा सिर्जनशीलता, आत्मनिर्भरता र उद्यमशीलताको विकास गर्ने उद्देश्यले तीन वर्षदेखि सञ्चालन हुँदै आएको क्याम्पको तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको हो ।

विद्यालयका प्रधानाध्यापक सुदीपराज गिरीका अनुसार दसैँ–तिहार बिदापछि विद्यालय खुलेको पहिलो एक साता विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप सिकाउने गरिएको छ । चाडपर्वको लामो बिदापछि विद्यालय फर्किएका विद्यार्थीलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदै नियमित पठनपाठनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयले विद्यार्थीको उमेर र कक्षाअनुसार फरक–फरक सीप निर्धारण गरेको छ । कक्षा ३ सम्मका विद्यार्थीले स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभ्यास गरेका छन् । कक्षा ४ मा कागज पुनःप्रशोधन, कक्षा ५ मा बुनाइ र कक्षा ६ मा कलासम्बन्धी गतिविधि सञ्चालन गरिएको थियो । कक्षा ७ का विद्यार्थीले भने परालबाट परम्परागत गुन्द्री बुन्न सिकेका छन् । विद्यालय परिसरमै आवश्यक सामग्रीको व्यवस्था गरी उनीहरूलाई गुन्द्री तयार गर्ने अभ्यास गराइएको थियो ।

कक्षा ७ की विद्यार्थी सायास्ता परियार पनि गुन्द्री बुन्ने अभ्यासमा सहभागी हुनुभएको थियो । यसअघि नजानेको सीप विद्यालयमै सिक्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । गुन्द्री बनाउन पराल तयार गर्नेदेखि बुन्नेसम्मको अभ्यास गर्दा नयाँ अनुभव प्राप्त भएको उहाँको भनाइ छ । घरपरिवारमा पहिले दैनिक प्रयोग हुने गुन्द्रीजस्ता सामग्री कसरी तयार हुन्छन् भन्ने कुरा विद्यार्थीले आफ्नै हातले अभ्यास गरेर सिकेका छन् । आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत सीपसँग नयाँ पुस्तालाई परिचित गराउने प्रयाससमेत विद्यालयले गरेको छ ।

परम्परागत सीप सिकिरहेका विद्यार्थीको छेउमै आधुनिक प्रविधिको अभ्यास पनि चलिरहेको थियो । कक्षा ८ का विद्यार्थीले रोबोटिक्स तथा विद्युतीय प्रविधिमा आधारित उपकरणका नमुना निर्माण गरेका थिए । उनीहरूले तयार गरेका उपकरण प्रदर्शनीमा राखेर त्यसको प्रयोग र उपयोगिताबारे जानकारी गराएका थिए ।

कक्षा १० का विद्यार्थीले भने क्याम्प सञ्चालनमा स्वयंसेवकका रूपमा सहयोग गरेका थिए । प्रधानाध्यापक गिरीका अनुसार विद्यालयले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई व्यावहारिक अभ्याससँग जोड्ने ‘स्टिम’ शिक्षण अवधारणालाई समेत कार्यक्रममा समावेश गरेको छ । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी दैनिक जीवनमा आवश्यक काम आफैँ गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक शिक्षालाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

अभिभावक ढुङ्गानाले क्याम्पमा सहभागी भएपछि बालबालिकामा नयाँ कुरा सिक्ने उत्साह बढेको अनुभव सुनाउनुभयो । उहाँका अनुसार चाडपर्वको बिदापछि विद्यालय जान बालबालिका उत्साहित हुने गरेका छन् । नियमित कक्षामा फर्किनुअघि फरक किसिमका गतिविधिमा सहभागी हुन पाउँदा विद्यार्थीले रमाउँदै सिक्ने अवसर पाएका छन् । “एकपटक कुनै सीप सिकेपछि त्यसबाट अरू कुरा पनि आफैँ खोजेर सिक्ने बानीको विकास हुँदोरहेछ”, ढुङ्गानाले भन्नुभयो ।

उहाँले बालबालिकाको सिर्जनशीलता र व्यावहारिक कामप्रतिको रुचिमा सकारात्मक परिवर्तन देखिएको बताउनुभयो । यस्ता गतिविधिलाई विद्यालयको पाठ्यक्रमसँग अझ व्यवस्थित रूपमा जोड्न सके विद्यार्थीको सिकाइ प्रभावकारी हुने उहाँको सुझाव छ । विद्यालयमा विद्यार्थीले परम्परागत सीप र प्रविधि मात्र होइन, उत्पादन गरेको सामग्री कसरी बिक्री गर्ने भन्ने विषयसमेत सिकिरहेका छन् ।

कक्षा ९ मा अध्ययनरत सोनु अधिकारीले यस वर्ष तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन तथा बजारीकरणको अभ्यास गर्नुभयो । कक्षाका विद्यार्थीले समूह बनाएर मैनबत्ती उत्पादनदेखि बिक्रीसम्मको काम गरेका थिए । कसैले सामग्री सङ्कलन, कसैले उत्पादन र कसैले बजारीकरणको जिम्मेवारी लिएका थिए । सोनुका बुबा पुरुषोत्तम अधिकारीका अनुसार उहाँकी छोरीले बजारीकरणको जिम्मेवारी पाउनुभएको थियो । विद्यालयमा भएको कामबारे छोरीले घरमा सुनाएपछि उहाँले मैनबत्तीको उत्पादन लागत, बिक्री मूल्य र नाफाबारे चासो राख्नुभयो ।

उहाँका अनुसार विद्यार्थीले उत्पादन लागतमा करिब ४० प्रतिशत नाफा राखेर मैनबत्तीको बिक्री मूल्य निर्धारण गरेका थिए ।

विद्यालयमा सिकेको कुरा घरमा आएर छोरीले व्यवसायसँग जोडेर छलफल गर्न थालेपछि अधिकारी खुसी हुनुहुन्छ । कुनै सामग्री उत्पादन गर्नु मात्र पर्याप्त नहुने, त्यसको लागत, बजार मूल्य र सम्भावित नाफाको हिसाब पनि गर्नुपर्ने ज्ञान विद्यार्थीले हासिल गरेको उहाँको भनाइ छ । “आफूले उत्पादन गरेको वस्तु कतिमा बेच्दा नाफा हुन्छ र बजार मूल्यअनुसार कसरी अघि बढ्नुपर्छ भन्ने ज्ञान विद्यार्थीले हासिल गर्नु खुसीको कुरा हो”, अधिकारीले भन्नुभयो । विद्यालयमा पढ्ने, लेख्ने र परीक्षा दिने मात्र नभई दैनिक जीवनमा उपयोगी हुने सीप सिक्नु आवश्यक रहेको उहाँको बुझाइ छ ।

विद्यालयको सिकाइ घरपरिवारमा समेत देखिन थालेको उहाँ बताउनुहुन्छ । बालबालिकाले सरसफाइ र वातावरण संरक्षणसम्बन्धी सिकेका कुरा घरमा समेत लागू गर्ने गरेका छन् । कहिलेकाहीँ आफूले फोहर व्यवस्थापनमा ध्यान नदिँदा बालबालिकाले सचेत गराउने गरेको उहाँले सुनाउनुभयो । अधिकारीले सीपमूलक शिक्षामा अभिभावकको सहभागिता पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । विद्यार्थीले तयार गरेका सामग्रीको प्रदर्शनी अवलोकन गर्ने, उनीहरूलाई प्रोत्साहन गर्ने र विद्यालयमा सिकेका कुरा घरमा अभ्यास गर्ने वातावरण बनाउनुपर्ने उहाँको सुझाव छ ।

विद्यालयले यसअघि विद्यार्थीलाई कृषि अभ्यासमा समेत सहभागी गराएको थियो । विद्यार्थीले विद्यालय परिसरमै धान रोप्ने, काट्ने, चुट्ने र भित्र्याउनेसम्मका काम सिकेका थिए । त्यसैगरी जैविक फोहरबाट कम्पोस्ट मल निर्माणलगायतका अभ्याससमेत गराइएको थियो । प्रधानाध्यापक गिरीले परम्परागत ज्ञानको संरक्षणसँगै विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउने उद्देश्यले सीपमूलक शिक्षालाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई दैनिक जीवनमा प्रयोग गर्न सकून् भन्ने विद्यालयको लक्ष्य छ ।

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि