सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो

एनभिडिया प्रकरणले चीनप्रति कडा अमेरिकी नीतिको बहस चर्कियो

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलाको सम्बन्ध रहेको खुलासाले अमेरिकामा चीनप्रति कडा नीति अपनाउनुपर्ने आवाजलाई बल दिएको छ । यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनमा उन्नत प्रविधि निर्यात गर्न दिएको अनुमतिमाथि पनि प्रश्न उठाएको छ ।

हुआङले सिङ्गापुरस्थित मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गर्नुभएको छ । अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको आशङ्का गरेका छन् । राष्ट्रपति ट्रम्पले भने हुआङलाई सम्मानित व्यक्ति बताउँदै उहाँलाई ती महिला जासुस भएको थाहा नभएको उल्लेख गर्नुभएको छ ।

चीनमा उन्नत एआई चिप निर्यातको पक्षमा पैरवी गर्दै आउनुभएका हुआङको प्रयासपछि ट्रम्पले गत वर्ष एनभिडियाको एच–२०० चिप चीनमा बिक्री गर्न अनुमति दिनुभएको थियो । त्यसको विरोध गर्दै आएका अमेरिकी सांसदहरूले अहिलेको विवादलाई निर्यात नियन्त्रण कडा बनाउने अवसरका रूपमा लिएका छन् ।

रिपब्लिकन सांसदहरूले हुआङसँगको सम्बन्ध र एनभिडियाको सुरक्षा व्यवस्थाबारे नोभेम्बर १८ मा उहाँसँग बन्द कोठामा छलफल गर्ने तयारी गरेका छन् । यस घटनाले चीनमा उन्नत चिप निर्यातको अनुमति समीक्षा तथा रोक लगाउन काङ्ग्रेसलाई अधिकार दिने द्विदलीय विधेयक अघि बढ्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

तर, कडा निर्यात नियन्त्रणले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको व्यापार युद्धविराम बिगार्न सक्ने तथा चीनले अमेरिकी आपूर्ति शृङ्खलामा प्रतिकारात्मक कदम चाल्न सक्ने चिन्ता पनि छ । एफबीआईले जासुसीको आरोपबारे अनुसन्धान गरिरहेको छ भने न्याय मन्त्रालयले एनभिडियाका चिप चीनमा तस्करी भएको थियो कि थिएन भन्ने विषयमा छानबिन गरिरहेको छ । मेगास्पिडले तस्करीको आरोप अस्वीकार गरेको छ भने चीनले जासुसीको दाबीलाई खारेज गरेको छ ।

विश्लेषकहरूका अनुसार हुआङमाथि गलत काम गरेको पुष्टि भएमा वा उहाँ कम्पनीबाट बाहिरिनुपरेमा अमेरिकी एआई उद्योगमा असर पर्न सक्छ । तर, यस प्रकरणले काङ्ग्रेस र अमेरिकी प्रशासनभित्र एनभिडियाको प्रभाव घटाउने सम्भावना अझ महत्त्वपूर्ण रहेको उनीहरूको आकलन छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि