कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । सरकारले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले देशमा रोगको प्रकोप गम्भीर बन्दै गएको देखाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म ११ हजार ४२ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ३८७ जनाको मृत्यु भइसकेको छ । यो कङ्गोमा देखिएको अहिलेसम्मकै सबैभन्दा घातक इबोला प्रकोप हो । सङ्क्रमितमध्ये झन्डै आधाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।
गत मे महिनाको मध्यतिर प्रकोप घोषणा गरिएयता सशस्त्र द्वन्द्व, स्वास्थ्य प्रणालीको कमजोर अवस्था, जीर्ण सडक पूर्वाधार तथा स्थानीय समुदायमा व्याप्त अविश्वास र गलत सूचनाका कारण स्वास्थ्यकर्मीमाथि हुने आक्रमणजस्ता समस्याले प्रकोप नियन्त्रणमा चुनौती थपेका छन् ।
यस प्रकोपका लागि जिम्मेवार ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म कुनै खोप वा उपचार विधि उपलब्ध छैन । यो भाइरस कङ्गोका २६ प्रान्तमध्ये आठवटामा फैलिसकेको छ ।
इतुरी र उत्तर किभु प्रान्तका प्रमुख प्रभावित क्षेत्रमा हिंसा पुनः चर्किएपछि स्वास्थ्य अधिकारीहरू थप चिन्तित बनेका छन् । उनीहरूले स्वास्थ्यकर्मीलाई सङ्क्रमित बिरामीसम्म निर्बाध रूपमा पुग्ने वातावरण बनाउन द्वन्द्वरत पक्षसँग लडाइँ रोक्न आग्रह गरेका छन् ।
कङ्गोका स्वास्थ्य मन्त्री रोजर काम्बाकाका अनुसार, कुल सङ्क्रमितमध्ये करिब ७० प्रतिशत इतुरी प्रान्तका छन् भने उत्तर किभु नयाँ सङ्क्रमण फैलिने प्रमुख केन्द्रका रूपमा देखिएको छ ।
भाइरसको अस्तित्वमाथि नै शङ्का गर्ने केही समुदायका मानिसहरूले स्वास्थ्य संस्था र चिकित्सकहरूलाई निशाना बनाएका छन् । यसका कारण स्वास्थ्यकर्मीमाथि पटकपटक आक्रमणका घटना भएका छन् ।
इतुरीका केही विद्यालयसमेत प्रकोपबाट प्रभावित भएका छन् । त्यहाँका धेरै शिक्षकमा सङ्क्रमण देखिएको छ । इतुरी प्रान्तको राजधानी बुनियाका दुई विद्यालयका प्रधानाध्यापकले एसोसिएटेड प्रेस (एपी) लाई बताएअनुसार, आफ्ना कर्मचारी गुमाउनुपरेपछि उनीहरू बाँकी शिक्षक र विद्यार्थीको सुरक्षालाई लिएर चिन्तित छन् ।
तीमध्ये एक प्रधानाध्यापक आइज्याक सिङ्गोमाले भन्नुभयो, “हाम्रा विद्यार्थी र सम्पूर्ण कर्मचारी गहिरो मानसिक आघातमा छन् । अहिलेको अवस्था अत्यन्तै कठिन भएकाले हामीलाई मनोवैज्ञानिकहरूको सहयोग आवश्यक छ ।”
विशेषज्ञहरूले कङ्गोमा इबोला प्रकोपको विस्तार सुस्त बनाउन र नियन्त्रणमा लिन थप प्रभावकारी प्रयास आवश्यक रहेको बताएका छन् । यसअघि पनि यो रोग युगान्डा, केन्या र नाइजेरियालगायत अफ्रिकी मुलुकहरूमा फैलिएको थियो ।
सन् १९७६ मा पहिलोपटक पहिचान भएयता इबोलाका दर्जनौँ प्रकोप देखिएका छन् । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा ठूलो र घातक थियो । उक्त प्रकोपमा २८ हजारभन्दा बढी सङ्क्रमित भएका थिए भने ११ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
हाल कङ्गोमा फैलिएको प्रकोप इबोलाको इतिहासमा दोस्रो सबैभन्दा घातक प्रकोप बनेको छ । यसमा सङ्क्रमित र मृतकको सङ्ख्या पश्चिम अफ्रिकाको प्रकोपको तुलनामा कम भए पनि मृत्युको अनुपात उच्च देखिएको छ ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।