सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन

जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन

चीनसँग सम्बन्ध सुधार गर्ने प्रयासका लागि परिचित जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई बताएका छन् ।

फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि एक वर्ष जापानको नेतृत्व गर्नुभएको थियो । उहाँले १२ महिनामै पहिलो कार्यकाल समाप्त गर्नुभएका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको स्थान लिनुभएको थियो ।

प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिनुभएको थियो । उहाँले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिनुभएको थियो । सन् २००८ मेमा भएको उक्त भ्रमण एक दशकपछि जापान भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रप्रमुखको भ्रमण थियो ।

भ्रमणका क्रममा दुवै नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गर्नुभएको थियो ।

लोकप्रियता घटेपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले सन् २०१२ मा सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो ।

विवादित टापु र ऐतिहासिक मुद्दालाई लिएर जापान र चीनबीचको सम्बन्ध बिग्रँदै गएपछि फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन जानुभएको थियो । उहाँको उक्त पहलले सी र आबेबीच शिखर बैठकका लागि मार्ग प्रशस्त गरेको थियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि