सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने

ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गर्नुभएको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार गरेका छन् ।

ट्रम्पले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणअघि दिनुभएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाउनुभएको छ । उहाँले कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्नुभएको छ ।

न्यायाधीश जेफ्री टी कुन्जले मानहानिसम्बन्धी दाबी अघि बढाउन अनुमति दिए पनि फ्लोरिडाको उपभोक्ता संरक्षण कानूनअन्तर्गतको दाबी खारेज गर्नुभएको छ । बिबिसीले वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ, तर ट्रम्पलाई वास्तविक क्षति पुगेको दाबी अस्वीकार गर्दै आएको छ ।

फैसलापछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ भन्नुभएको छ । उहाँले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध लडिरहने बताउनुभएको छ । यसअघि अदालतले उहाँलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो । तोकिएको समयमा उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि