विश्व पर्यटन क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय व्यापारिक मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मंगलबारदेखि बेलायतको राजधानी लन्डनस्थित एक्ससेल प्रदर्शनी केन्द्रमा सुरु भएको छ ।
‘उत्थानशीलता, पुनरुत्थान र पुनराविष्कार : विश्वव्यापी यात्राको नयाँ युग’ नारासहित आयोजित मेलामा १८० भन्दा बढी देशका ४६ हजार ५०० भन्दा बढी पर्यटन व्यवसायी, विज्ञ तथा खरिदकर्ता सहभागी छन् । आयोजकका अनुसार ४ हजार १०० भन्दा बढी कम्पनीले प्रदर्शनीमा सहभागिता जनाएका छन् ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन, ट्राभल तथा ट्रेकिङ कम्पनीहरूले पनि मेलामा सहभागिता जनाएका छन् । उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, साहसिक पर्यटन र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ पनि मेलामा सहभागी छन् ।
मेलाको प्रमुख आकर्षणका रूपमा सार्वजनिक गरिएको ग्लोबल ट्राभल रिपोर्ट २०२६ ले सन् २०२६ मा विश्वभर अन्तर्राष्ट्रिय पर्यटक आगमन २ प्रतिशतले बढेर १ अर्ब ५७ करोड पुग्ने प्रक्षेपण गरेको छ । त्यस्तै, विश्वव्यापी पर्यटन खर्च ९ प्रतिशतले वृद्धि भई ७.८ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
मेलाका क्रममा पर्यटन मन्त्रीस्तरीय शिखर सम्मेलनसमेत आयोजना हुँदै छ । सम्मेलनमा दिगो पर्यटन, जलवायु परिवर्तन, पर्यटन क्षेत्रको उत्थानशीलता र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल हुनेछ ।
विश्व पर्यटनका प्रमुख सरोकारवालालाई एकै ठाउँमा जोड्ने डब्ल्यूटीएम लन्डन नेपालका लागि अन्तर्राष्ट्रिय बजारमा गन्तव्य प्रवर्द्धन, विदेशी पर्यटक आकर्षण, पर्यटन लगानी भित्र्याउन तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
तीन दिनसम्म सञ्चालन हुने मेला ५ नोभेम्बरमा सम्पन्न हुनेछ ।
हेर्नुहोस् थप तस्वीरहरू







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।