इजरायलको नयाँ संसद्ले शपथ लिएसँगै सरकार गठनको जिम्मेवारी पाउनुभएका पूर्वसैनिक प्रमुख गदी इसेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख नीतिहरू उल्टाउने तयारी गर्नुभएको छ । उहाँले हमासको आक्रमणबारे सरकारी अनुसन्धान, प्रधानमन्त्रीको कार्यकालमा सीमा निर्धारण र न्यायपालिकाको अधिकार कटौती गर्ने निर्णय खारेज गर्नेलगायत विधेयक अघि सार्नुभएको छ ।
इसेनकोटलाई सरकार गठनका लागि छ हप्ताको समय दिइएको छ । गठबन्धन सरकार गठनको टुङ्गो नलागे पनि नेतान्याहुका विपक्षी दलहरूले संसद्मा बहुमत प्राप्त गरेका छन् । इसेनकोटले सबै नागरिकको प्रतिनिधित्व गर्ने सरकार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, नेतान्याहुले अरब नेतृत्वका दलहरूले चुनाव ‘चोरेको’ आरोप लगाउँदै उनीहरूसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गर्नुभएको छ । इजरायलको जनसङ्ख्याको करिब २० प्रतिशत हिस्सा ओगट्ने अरब समुदायका दलहरूमाथि विश्वास गर्न नसकिने उहाँको भनाइ छ । इसेनकोटले भने इजरायलको यहुदी राष्ट्रको पहिचान स्वीकार गर्ने र हमासलाई आतङ्कवादी सङ्गठन मान्नेलगायत सर्त पूरा भए अरब दलसँग सहकार्यको सम्भावना खुला राख्नुभएको छ ।
नेतान्याहुको अभिव्यक्तिलाई विभाजनकारी र घृणापूर्ण भन्दै इसेनकोटले उहाँ प्रधानमन्त्री पदमा रहन योग्य नभएको टिप्पणी गर्नुभएको छ । उहाँले नेतान्याहुको लिकुड पार्टीसँगको निर्धारित बैठकसमेत रद्द गर्नुभएको छ ।
यसैबीच, विपक्षी सांसदहरूले वर्तमान सभामुख अमिर ओहानालाई हटाउने प्रक्रिया सुरु गरेका छन् । नयाँ सभामुखका रूपमा इसेनकोटको याशर पार्टीका नेता मतन काहानालाई प्रस्ताव गरिएको छ । सभामुख परिवर्तन भए विपक्षी दललाई आफ्ना विधेयक अघि बढाउन सहज हुनेछ ।
नयाँ संसद् गठन भए पनि इसेनकोटले सरकार बनाउन नसकेसम्म नेतान्याहु र उहाँको मन्त्रिपरिषद् पदमै रहनेछन् । इसेनकोट असफल भए राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहुलाई पुनः सरकार गठनको अवसर दिन सक्नुहुनेछ ।
नेतान्याहुले इरानबाट हुन सक्ने आक्रमणको जोखिम देखाउँदै राजनीतिक मतभेद बिर्सेर एकता सरकार बनाउन आग्रह गर्नुभएको छ । तर, नेतान्याहुविनाको सरकार बने उहाँको राजनीतिक प्रभाव कमजोर हुने र भ्रष्टाचार मुद्दा तथा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमण रोक्न नसकेको सुरक्षा कमजोरीबारे अनुसन्धानको दबाब बढ्ने सम्भावना छ ।







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।