सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

विकास

राजमार्गको मध्यभागमा बन्यो आकर्षक ‘मध्यविन्दु स्तम्भ’

राजमार्गको मध्यभागमा बन्यो आकर्षक ‘मध्यविन्दु स्तम्भ’

नवलपुर (नवलपरासी), २४ कात्तिकः पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको मध्यभागको पहिचान गराउने उद्देश्यले नवलपुरको मध्यविन्दुमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण गरिएको छ ।

नारायणघाट–बुटवल खण्डको चोरमारा जङ्गल क्षेत्रमा पर्ने पूर्व–पश्चिम दुवैको बीच ५१४÷५१४ किलोमिटरको दूरीमा निर्माण गरिएको स्तम्भले राजमार्गको भौगोलिक महत्वसँगै जिल्लाको नयाँ पर्यटकीय पहिचान थप्ने अपेक्षा गरिएको छ ।

नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले राजमार्गको पूर्वी बिन्दु मेची पुल र पश्चिमी बिन्दु कञ्चनपुरको गड्डाचौकीबाट समान दूरीमा पर्ने स्थानमा उक्त स्तम्भ निर्माण गरिएको बताउनुभयो । करिब एक हजार २८ किलोमिटर लामो पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दुमा पर्ने यस स्थानबाट दुवैतर्फको बराबर छ । निर्माण भएको स्तम्भमा समेत दुवैतर्फको समान दूरी उल्लेख गरिएको छ ।

यसअघि पनि उक्त स्थानमा पूर्व र पश्चिमको दूरी देखाउने सामान्य स्तम्भ भए पनि सडक विस्तार क्रममा भत्काइएको थियो । सूचना अधिकारी खनालले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा सडक मादपण्डभित्र परेको पुरानो स्तम्भ भत्काएर नयाँ संरचना निर्माण गरिएको बताउनुभयो ।

मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले राजमार्गको मध्यभागलाई व्यवस्थित रूपमा चिनाउने र यात्रुका लागि आकर्षण थप्ने उद्देश्यले नयाँ स्तम्भसहितको संरचना तयार पारिएको बताउनुभयो । नयाँ स्तम्भ निर्माण गर्नका लागि नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्ड र मध्यविन्दु नगरपालिकाको लागत साझेदारी गरेका अधिकारीको भनाइ छ । कुल लागतको ८० प्रतिशत खर्च सडक योजनाले र २० प्रतिशत खर्च नगरपालिकाले व्यहोर्ने गरी स्तम्भ निर्माण गरिएको अधिकारीले बताउनुभयो ।

नवलपुरको बीटी कन्स्ट्रक्सनले रु ३४ लाख ९१ हजार ८७१ मा सम्झौता गरी स्तम्भ निर्माण गरिएको हो । “मध्यविन्दु स्तम्भलाई जिल्लाकै पहिचान र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ”, नगरप्रमुख अधिकारीले भन्नुभयो, “राजमार्गको बीच भागमा पर्ने भएकाले यहाँ पुग्ने यात्रु तथा पर्यटकका लागि स्तम्भ अवलोकन, तस्बिर खिच्ने र केही समय विश्राम गर्ने आकर्षक स्थल बनाउनेगरी अन्य योजना अगाडि बढाउँदैछौँ ।”

राजमार्गको मध्यभागमा रहेको यही भौगोलिक अवस्थाका आधारमा यस क्षेत्रको नाम मध्यविन्दु रहेको भन्दै नगरप्रमुख अधिकारीले सोही नामबाट नगरपालिका स्थापना गरिएको बताउनुभयो ।

अहिले जिल्लाका मध्यविन्दु तथा कावासोतीमा निर्माण भएका अस्पताललगायत विभिन्न सङ्घसंस्था र संस्थागत संरचनाको नामकरणसमेत मध्यविन्दुका आधारमा गरिएको छ । नयाँ स्तम्भ निर्माणसँगै मध्यविन्दु नगरपालिकाले यस क्षेत्रको सरसफाइ, संरक्षण र पर्यटकीय पूर्वाधार विकासमा योजना अगाडि बढाउने तयारी गरेको अधिकारीले बताउनुभयो । उक्त स्तम्भमा पछाडिपट्टि नेपालको नक्सा र अगाडिपट्टि मध्यविन्दु दर्शाउने सुन्दर कलाकृति राखिएको छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि