काठमाडौँ, ११ कात्तिकः सीमा सुरक्षा र प्रबन्धलाई सुदृढ पार्ने, सिमानामा हुने आपराधिक क्रियाकलाप रोक्ने तथा दुई देशका सीमावर्ती सुरक्षा अंगहरूमा आपसी सहकार्य र मेलमिलाप बढाउने लक्ष्यसहित सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलको दशौँ संयुक्त समन्वय बैठक काठमाडौँमा सुरु भएको छ।
यस छलफलमा दुवै देशका सुरक्षा सङ्गठन तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ। नेपाली टोलीको अगुवाइ सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलबाट भएको छ भने यसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका अधिकारीहरू सम्मिलित छन्।
यस्तै, भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको सहभागिता रहेको छ भने भारतीय समूहको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले सम्हाल्नुभएको छ।
सीमा क्षेत्रको बलियो सुरक्षा प्रबन्ध, सिमानामा भइरहेका गैरकानूनी गतिविधि रोकटोक, मानवतस्करी र लागुऔषधको अवैध ओसारपसार नियन्त्रण, हातहतियार तथा अन्य वस्तुहरूको गैरकानूनी पैठारी निषेध र सीमा इलाकामा अमनचयन कायम गर्न हालसम्म चालिएका संयुक्त प्रयासहरूको सिंहावलोकन गरिने कुरा सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले खुलाउनुभयो।
दुई दिनसम्म चल्ने यो आपसी बैठकमा सीमा प्रबन्ध संयन्त्रको निर्देशन अनुरुप दशगजा क्षेत्रको अतिक्रमण हटाउने, सीमा स्तम्भहरूको जोगाइ, मर्मत तथा निर्माण गर्ने, सिमानामा हुने अपराध रोक्ने तथा सीमापार असर पार्न सक्ने प्रकोप र महामारीको खतरा घटाउन बारम्बार हुने समन्वय बैठक एवं द्रुत सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा कुराकानी हुने प्रवक्ता कार्कीले प्रष्ट पार्नुभयो।
त्यस्तै, सिमाना आसपास बसोबास गर्ने जनतासँगको सम्बन्ध गहिरो बनाउने तथा नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीचको साइनो र सहकार्यलाई प्रगाढ बनाउन मैत्रीपूर्ण खेलकूदसहितका सम्बन्ध बढाउने गतिविधि सञ्चालन गर्नेबारे समेत कुराकानी हुनेछ।
सिमानाको सुरक्षालाई अझै सशक्त पार्न दुई संस्थाबीच क्षमता विकास र संस्थागत सहयोग बढाउने, नेपाल–भारतको खुला सिमानाको फाइदा उठाई तेस्रो मुलुकका नागरिकबाट हुने गैरकानूनी प्रवेशलाई कडा निगरानीमा राख्ने, सीमा प्रबन्धलाई अझ व्यवस्थित, प्रभावकारी र आधुनिक बनाउन उचित प्रविधिको प्रयोग गर्ने, विपद् पूर्वतयारी तथा उद्धार कार्यमा संयुक्त सहकार्यलाई प्रभावकारी बनाउने र सीमा नाकाहरूमा यात्रुहरूको सुविधाका निम्ति थप सहायता कक्षहरू बनाउने विषयमा समेत विचारविमर्श हुनेछ भने सीमा क्षेत्रमा खडा हुन सक्ने अप्ठ्यारा तथा बाधा अड्चनको बेलैमा पत्ता लगाई निराकरण गर्न बारम्बारको सम्पर्क, पारस्परिक विश्वास, सूचनाको प्रभावकारी आदानप्रदान र संस्थागत सहकार्यलाई जारी राख्ने विषयमा समेत विमर्श हुने कुरा प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
यो द्विपक्षीय बैठकमार्फत नेपाल र भारतबीचको पुरानो मैत्रीपूर्ण सम्बन्ध अझ बलियो हुने तथा सीमावर्ती भेगमा अमनचयन, सुरक्षा र सद्भाव कायम गर्न दुवै सुरक्षा संयन्त्रको सहकार्य र मेलमिलाप थप प्रभावकारी हुने अपेक्षा लिइएको छ।








प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।