सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

आर्थिक/बजार

हिमाली ऊनलाई विश्व बजारमा पुर्‍याउने अभियान, बाजुरामा ‘फार्म टु फेसन’ रनवे

हिमाली ऊनलाई विश्व बजारमा पुर्‍याउने अभियान, बाजुरामा ‘फार्म टु फेसन’ रनवे

हिमाली क्षेत्रको परम्परागत भेडापालन, स्थानीय ऊन र हस्तकलालाई विश्व फेसन बजारसँग जोड्ने उद्देश्यसहित बाजुरामा ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे २०२६’ आयोजना गरिएको छ ।

४ नोभेम्बरमा सम्पन्न कार्यक्रममा फेसनलाई केवल पहिरन र सौन्दर्यको विषयमा सीमित नराखी जलवायु सचेतना, स्थानीय उत्पादन, महिला उद्यमशीलता र ग्रामीण अर्थतन्त्रसँग जोड्ने प्रयास गरिएको थियो ।

केएएसएको पहल तथा थ्रेड्स अफ द हिमालय फाउन्डेसनको आयोजनामा भएको कार्यक्रमले नेपालको हिमाली क्षेत्रमा भेडापालन र स्थानीय ऊन उत्पादनको सम्भावनालाई नयाँ ढंगले प्रस्तुत गरेको आयोजकको भनाइ छ ।

नेपालका हिमाली समुदायमा पुस्तौँदेखि चल्दै आएको भेडापालन र ऊन प्रशोधनको सीपलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्दै स्थानीय किसानलाई फेसन उद्योगसँग जोड्ने अभियानको मुख्य उद्देश्य रहेको छ । यसबाट महिला उद्यमी, स्थानीय हस्तकर्मी तथा साना व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने अवसर सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा जलवायु परिवर्तनका कारण प्रभावित हिमाली समुदायका समस्या र स्थानीय स्रोतको दिगो उपयोगको विषयलाई समेत प्राथमिकता दिइएको थियो । प्राकृतिक स्रोतको संरक्षण र परम्परागत ज्ञानको प्रवर्द्धनसँगै बाजुराको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई पर्यटनसँग जोड्ने प्रयास पनि गरिएको आयोजकले जनाएको छ ।

थ्रेड्स अफ द हिमालय फाउन्डेसनकी संस्थापक तथा केएएसएकी सञ्चालक रमिला नेम्कुल श्रेष्ठले स्थानीय स्रोत र सीपलाई फेसनमार्फत सामाजिक परिवर्तनको माध्यम बनाउन खोजिएको बताइन् । किसान, हस्तकलाकर्मी, महिला उद्यमी र विश्व फेसन बजारबीच सम्बन्ध स्थापित गर्नु अभियानको दीर्घकालीन लक्ष्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा बीवाईडी, ल्यामिनार, खाद्य तथा कृषि संगठन (एफएओ), सीएचएन, एमएम ग्रुप, लेमन ट्री, समिट एयर, सीता एयर र बुद्ध एयरलगायत संस्थाले साझेदारी गरेका थिए ।

‘भेडापालनदेखि ऊनसम्म, ऊनदेखि फेसनसम्म र फेसनदेखि जलवायु सचेतनासम्म’ भन्ने अवधारणाले अघि बढाइएको यो अभियानले हिमाली क्षेत्रको स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ ।

स्थान

सुदूरपश्चिम प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि