सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो

बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो

इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना हो । यस्ता धम्कीले युरोपका विभिन्न संस्थाको कामकाजमा अवरोध पु¥याउँदै आएका छन् ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विज्ञप्ति जारी गर्दै विद्यालयहरूमा कुनै ठोस खतरा रहेको सङ्केत नदेखिएको बताउनुभएको छ । यस्ता धम्की आतङ्क र त्रास सिर्जना गर्ने उद्देश्यले दिइएको हुन सक्ने उहाँको भनाइ छ ।

उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै बुधबार नै मन्त्रीहरूको बैठक बोलाएको बताउनुभयो ।

‘लाप्रेस’ समाचार एजेन्सीसहित इटालीका सञ्चारमाध्यमले प्राप्त गरेको अज्ञात इमेलमा प्रधानमन्त्री मेलोनीलाई समेत लक्षित गरी धम्की दिइएको छ । यद्यपि, मेलोनीले आफ्नो विज्ञप्तिमा आफूलाई दिइएको व्यक्तिगत धम्कीबारे उल्लेख गर्नुभएको छैन् । उहाँको कार्यालयले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

परराष्ट्रमन्त्री एन्टोनियो ताजानीले गत शनिबार आफ्नो व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक भएको बताउनुभएको थियो । प्रधानमन्त्री मेलोनीले यस घटनामा रुस समर्थक ह्याकरहरू संलग्न रहेको आरोप लगाउनुभएको छ ।

‘लाप्रेस’ समाचार एजेन्सीका अनुसार, शिक्षा मन्त्री ज्युसेप्पे भालदिताराले ३०० विद्यालयमा इमेलमार्फत बमको धम्की प्राप्त भएको बताउनुभएको छ । यसबारे मन्त्रालयसँग प्रतिक्रिया माग्दा तत्काल कुनै जवाफ प्राप्त भएको छैन ।

राजधानी रोमस्थित मामियानी माध्यमिक विद्यालयमा विद्यार्थीहरूले सुरुमा विद्यालयबाट बाहिरिने सूचनालाई नियमित बिदाको सङ्केत ठानेका थिए । बाहिर निस्किएपछि मात्र उनीहरूले बमको धम्कीका कारण विद्यालय खाली गराइएको थाहा पाए ।

अठार वर्षीया विद्यार्थी अनिता बार्तोचीले भनिन्, “हामीलाई रुसी ह्याकरहरूबाट इमेल आएको र त्यसमा सबैलाई मार्ने धम्की दिइएकाले बमको चेतावनी जारी गरिएको बताइयो । त्यो निकै हिंसात्मक सन्देश थियो ।”

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि